काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था तथा व्यक्तिले उक्त रकम सहयोग गरेका हुन्। प्राप्त सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
सहयोग गर्नेमा सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख र हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख रुपैयाँ रहेका छन्।
त्यस्तै, एग्रो थाईफुड्स प्रालि, एसियन लाइफ इन्स्योरेन्स कम्पनी र सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रतिनिधिले एक–एक करोड रुपैयाँ सहयोग गरेका छन्।
उद्योगी विजयकुमार शाहले एक करोड, पद्मज्योति समूहको स्याकार ट्रेडिङले एक करोड तथा राजी राणाले व्यक्तिगत रूपमा एक करोड ९ लाख ८० हजार रुपैयाँ योगदान गरेका छन्।
यस्तै, डब्लूडब्लूएफ नेपालले एक करोड, मोरङ अटो वर्क्सले १ करोड ११ लाख, जावलाखेल डिस्टिलरीले एक करोड, हिमालयन डिस्टिलरीले एक करोड, अल्फा अटोमोटिभ प्रालिले एक करोड र सोलु हाइड्रोपावरका प्रतिनिधिले एक करोड रुपैयाँ सहयोग गरेका छन्।
नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख तथा लुम्बिनी विकास बैंकका प्रतिनिधिले २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
यसैगरी, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख, एबाकस इन्साइट्स प्रालिले १५ लाख, सीएएस ट्रेडिङ हाउसले १ लाख ११ हजार र सिल्भर लाइनिङ प्रालिका अधिकारीले १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन्। अन्य तीन संस्थाबाट समेत २६ लाख ६२ हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ।
अर्थ मन्त्रालयका अनुसार शुक्रबार मात्रै विभिन्न संस्था तथा व्यक्तिबाट प्राप्त उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगका लागि उक्त कोषमार्फत रकम परिचालन गरिनेछ।

