- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसको उद्धारका लागि स्काभेटर र डोजरलाई बट्टारमा खण्ड-खण्ड पारेर हेलिकप्टरमार्फत आयोजनास्थल पुर्याइएको छ।
- गएराति भीषण बाढी आए पनि नेपाली सेनासहितको टोलीले अहोरात्र उद्धार कार्य जारी राख्दै सुरुङको प्रवेशद्वार खोल्ने कामलाई तीव्रता दिएको छ।
- नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरुङको प्रवेशद्वार खोल्ने काम सम्पन्न हुने अपेक्षा गरिएको छ। प्रवेशद्वार खुलेपछि फसेका मानिसको खोज तथा उद्धार सुरु हुनेछ।
काठमाडौं। बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसको उद्धारका लागि नेपाली सेनाले स्थलमार्गबाट लैजान कठिन भारी उपकरणलाई खण्ड-खण्ड पारेर हेलिकप्टरमार्फत आयोजनास्थल पुर्याएको छ।
उद्धारका लागि आवश्यक स्काभेटर र डोजरलाई सुरुमा नुवाकोटको बट्टार पुर्याइएको थियो। त्यसपछि ती उपकरणलाई बट्टारमै खण्ड-खण्डमा छुट्याएर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको हो।
बाढी र पहिरोका कारण आयोजनास्थलसम्मको सडक पहुँच अवरुद्ध भएपछि सुरुङको प्रवेशद्वारमा थुप्रिएको माटो, लेदो र अन्य अवरोध हटाउन आवश्यक भारी उपकरण यसरी हवाईमार्गबाट पुर्याइएको हो।
नेपाली सेनासहितको उद्धार टोली आयोजना क्षेत्रमा अहोरात्र खटिएको छ। गएराति पुनः भीषण बाढी आएर उद्धार कार्य थप चुनौतीपूर्ण बने पनि सुरुङसम्म पहुँच बनाउने प्रयास निरन्तर जारी राखिएको छ।
नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वार खोल्ने काम अहिले अन्तिम चरणमा पुगेको छ। हालको प्रगतिअनुसार अबको करिब एक घण्टाभित्र सुरुङको प्रवेशद्वार खोल्ने काम सम्पन्न हुने अपेक्षा गरिएको छ।
प्रवेशद्वार खुलेपछि मात्रै सुरुङभित्र फसेका मानिससम्म पुगेर उनीहरूको अवस्था पत्ता लगाउने तथा खोजी र उद्धारको काम सुरु गरिनेछ।
बाढीपछि सुरुङभित्र मानिस फसेको आशंकामा उद्धार टोलीले प्रवेशद्वारसम्म पहुँच स्थापित गर्न निरन्तर प्रयास गरिरहेको छ। सडकमार्ग अवरुद्ध हुँदा भारी उपकरणसमेत हेलिकप्टरबाट पुर्याउनुपरेको अवस्थामा सुरुङको प्रवेशद्वार खुल्नुलाई उद्धार अभियानको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ।

