काठमाडौं । बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत बाढीपीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। कार्यालयले सञ्चालनमा ल्याएको ‘उद्धार अनुरोध पोर्टल’ मार्फत स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिएको जनाएको छ।
कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामार्फत उक्त रकम जम्मा भएको हो। यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा थप २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
विपद्को विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग तथा उचित व्यवस्थापन सुनिश्चित गर्न सरकारले आधिकारिक क्यूआर कोड तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’ नामका खातामा मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको छ।
सम्भावित वित्तीय ठगीबाट जोगिन आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न आग्रह गर्दै कार्यालयले कोषमा रकम जम्मा गर्न आवश्यक बैंक खाता तथा अन्य विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

