काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाउने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारबाट खरिद मूल्य बढेर आए पनि भोटेकोशी क्षेत्रमा आएको बाढीबाट सिर्जित असहज अवस्थालाई ध्यानमा राख्दै निगमले उपभोक्तालाई थप भार नपार्ने निर्णय गरेको हो।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद लागत प्रतिलिटर १२ रुपैयाँ ४० पैसा तथा डिजेलको ४ रुपैयाँ ६८ पैसा बढेको छ। यद्यपि, निगम सञ्चालक समितिले भदौ ३१ गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ।
यससँगै पहिलो वर्गका बजारमा पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम रहनेछ। दोस्रो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँमा बिक्री हुनेछ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। सुर्खेत र दाङ दोस्रो वर्गमा छन् भने काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा राखिएका छन्।
आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा बिक्री हुने हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार ६९७ अमेरिकी डलर तोकिएको छ। एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम छ।
निगमले पछिल्ला महिनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा देखिएको उतारचढावका कारण स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न कठिनाइ भएको जनाएको छ।
मूल्य नबढाई हालकै दर कायम राख्दा निगममाथि आर्थिक भार भने थपिने भएको छ। निगमका अनुसार वर्तमान मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा अन्तर्राष्ट्रिय मूल्य निरन्तर बढिरहेको अवस्थामा पाक्षिक करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान छ।
बाढीबाट प्रभावित नागरिक तथा क्षेत्रको अवस्थालाई ध्यानमा राखेर तत्काल मूल्य वृद्धि नगर्ने निर्णय गरिएको निगमले जनाएको छ।

