काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ।
प्रतिवेदनअनुसार बाढीबाट धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको छ। प्रभावित क्षेत्रमा धान खेतीतर्फ १ हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित हुँदा ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ।
त्यस्तै, १३७ हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब १ हजार ८४३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ। नुवाकोट, धादिङ, रसुवा र गोरखाका विभिन्न स्थानीय तह बाढीबाट प्रभावित भएका छन्।
धान उत्पादनतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको छ। विदुरमा मात्रै ७०० हेक्टर धान खेती प्रभावित हुँदा २ हजार ४५० टन उत्पादनमा क्षति पुगेको छ। लिखुमा २३० हेक्टर क्षेत्र प्रभावित हुँदा ८०५ टन र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ। रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको छ।
तरकारीतर्फ पनि नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित १ हजार ३२३ टन उत्पादनमा क्षति पुगेको छ। धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको विवरणमा उल्लेख छ।
पशुपन्छीतर्फ १ अर्ब ११ करोडभन्दा बढी क्षति
बाढीका कारण पशुपन्छी क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। प्रतिवेदनअनुसार २ लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन्। यसको अनुमानित क्षति १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ रहेको छ।
सङ्ख्याका आधारमा कुखुरा सबैभन्दा धेरै प्रभावित भएका छन्। बाढीबाट करिब २ लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन्। यो कुल प्रभावित पशुपन्छीको ८५.१ प्रतिशत हो। तर मूल्यका आधारमा कुखुराको हिस्सा कुल क्षतिको ४.८ प्रतिशत मात्रै रहेको छ।
भैंसीतर्फ ४ हजार ५७२ वटा प्रभावित हुँदा ४५ करोड ७२ लाख रुपैयाँ क्षति भएको अनुमान छ। त्यस्तै, बाख्रा तथा च्याङ्ग्रामा ३९ करोड १३ लाख, गाईगोरुमा १७ करोड ९२ लाख, बङ्गुर÷बँदेलमा १ करोड ९६ लाख, अन्य पशुमा १ करोड ४ लाख र भेडामा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
कुखुरातर्फ ५ करोड ३७ लाख र अन्य चरातर्फ करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ।
प्रतिवेदनअनुसार कुल पशुधन क्षतिमध्ये भैंसी, बाख्रा÷च्याङ्ग्रा र गाईगोरुबाट मात्रै ९२.३ प्रतिशत क्षति भएको देखिन्छ। यसले बाढीले कृषकको आम्दानीसँगै ग्रामीण अर्थतन्त्रमा पशुपालन क्षेत्रबाट हुने योगदानमा समेत गम्भीर असर पारेको देखाउँछ।

