काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्।
शुक्रबार बसेको कार्यदलको बैठकमा पार्टीका उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका हुन्।
कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय गरेको एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टले बताए।
कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरिसकेको उनले बताए। महासचिवलाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको भए पनि कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्ष थापाले पनि छुट्टै सुझाव तथा प्रतिवेदन प्रस्तुत गरेको उनले बताए।
दुवै प्रतिवेदनमा रहेका विषयवस्तु अध्ययन गरी समान धारणा निर्माण गरेर एउटै प्रतिवेदन सचिवालयमा लैजाने निर्णय भएको भट्टले बताए। प्रतिवेदन अध्ययनका लागि दुई दिन समय दिइएको र आइतबार बस्ने बैठकले एकीकृत प्रतिवेदन तयार गर्ने उनले बताए।
दुईवटा प्रतिवेदन आए पनि पार्टीभित्र ठूलो विवाद नरहेको उनले बताए। केही विषयमा बुझाइमा अन्तर रहेकाले छुट्टाछुट्टै प्रतिवेदन आएको उनले बताए।
‘पुनर्गठन’लाई मूल नेतृत्व परिवर्तनका रूपमा बुझ्ने वा समग्र पार्टीको समीक्षा तथा संगठन पुनर्गठनका रूपमा बुझ्ने विषयमा दुई नेताबीच केही फरक धारणा देखिएको उनले बताए।
महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्ताव नरहेको पनि भट्टले बताए। महासचिवको प्रतिवेदन आफूले अध्ययन गरेको उल्लेख गर्दै उनले त्यस्तो प्रस्ताव आफूले नदेखेको बताए। प्रतिवेदनमा केही समीक्षा तथा कार्यदलमा आएका सुझाव समेटिएको उनले बताए।
संयोजक थापाले ल्याएको छुट्टै दस्तावेजलाई पूर्ण रूपमा अलग प्रतिवेदन भन्न नमिल्ने भट्टले बताए। महासचिवले ल्याएका विषयमा केही थप गर्न संयोजकले सुझाव प्रतिवेदन तयार गरेको उनले बताए।
कार्यदलले दुवै दस्तावेजलाई छुट्टाछुट्टै रूपमा केन्द्रीय कमिटीमा पेस नगर्ने भएको छ। एकीकृत प्रतिवेदन सचिवालयमा पेस गरिने र सचिवालयबाट पारित भएपछि एउटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने भट्टले बताए।

