काठमाडौं । भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढीका कारण ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ।
विपद्पछि गरिएको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार विपद्बाट प्रभावित संरचना तथा क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
त्यस्तै, आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्स्थापनाका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
विपद्बाट भएको क्षति, नोक्सानी तथा पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक स्रोतको आकलन गर्न विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित समितिले आरडिएनए प्रतिवेदन तयार गरेको हो।
समितिमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय तथ्यांक कार्यालय, कृषि, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभाग, शहरी विकास तथा भवन निर्माण विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सडक विभाग, पर्यटन विभाग तथा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सहभागी थिए।
समितिले तयार गरेको प्रतिवेदन आजै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ। समितिका तर्फबाट राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो।

