काठमाडौं । यस वर्षको विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार सो दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिनेछ। टीका लगाउँदा पश्चिम मोहडा गरेर थाप्नुपर्ने समितिले जनाएको छ। अर्थात् टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्केर टीका थाप्नुपर्नेछ।
विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमै टीका लगाउन चाहनेका लागि बिहान १०ः२६ बजेको साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले राष्ट्रिय समाचार समितिलाई जानकारी दिए।
राज्य सञ्चालकले भने समितिले तोकेको साइतमै मान्यजनबाट टीका तथा प्रसाद थाप्नुपर्ने उनले बताए। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका तथा आशीर्वाद थाप्ने चलन रहेको छ। केही स्थानमा भने विजयादशमीका दिन मात्रै देवीको प्रसादका रूपमा टीका थाप्ने परम्परा रहेको छ।
नेपालमा राष्ट्रिय चाडका रूपमा दसैँ मनाइन्छ। दसैँमा विभिन्न पेसा तथा व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैँमा विशेषगरी नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ।
असोज २५ गते घटस्थापनाको साइत
यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको समितिले जनाएको छ।
सो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत पर्ने भएकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने अध्यक्ष भट्टराईले बताए।
असोज २६ गते झण्डा फेर्ने साइत बिहान १०ः०७ बजे उत्तम रहेको छ। झण्डा फेर्दा पनि पश्चिम मोहडा गरेर फेर्नुपर्ने समितिले जनाएको छ।
असोज २९ गते बिहीबार पचलीभैरव यात्रा हुनेछ। असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ। सोही दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्राको साइत रहेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजे रहेको छ।
कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ। सोही दिन राति कालरात्रि पर्व मनाइनेछ। कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि परेको छ।
कात्तिक ३ गते मंगलबार महानवमी पर्व परेको छ। कात्तिक ४ गते बुधबार विजयादशमी परेको छ। नेपालीको महान् पर्व बडादसैँको मुख्य दिनका रूपमा रहेको यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ। त्यसपछि बिहान १०ः२६ बजे टीका लगाउने उत्तम साइत रहेको समितिले जनाएको छ।
सोही दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत रहेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः५२ बजे रहेको छ। खड्गयात्रा पनि कात्तिक ४ गते नै परेको छ।
कात्तिक ८ गते आइतबार सबै बलिपूर्ति गर्नुपर्नेछ। सोही दिन कोजाग्रत व्रत तथा पूर्णिमा व्रत परेको छ। बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुनेछ। कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ।
बडादसैँ नजिकिएसँगै बजारमा पनि चहलपहल बढ्न थालेको छ। दसैँमा नयाँ तथा राम्रो लुगा लगाउने, मीठो खाने र आफन्तसँग भेटघाट गर्ने परम्परा रहेको छ। सरकारले दसैँका अवसरमा सहुलियत मूल्यमा खाद्यपदार्थ बिक्री वितरण गर्न सुपथ मूल्य पसलसमेत सञ्चालन गर्दै आएको छ।
दसैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने तथा चङ्गा उडाउने गर्छन्। बालबालिकाले रमाइलो गर्ने पर्वका रूपमा पनि दसैँलाई लिइन्छ। प्रौढहरूले भने देवीको पूजा तथा उपासना गरी पर्व मनाउने गर्छन्। दसैँका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ भने विभिन्न शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति रहने गर्छ।

