चाडपर्वमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको सबै ब्रान्डका सिलिन्डर साटेर ग्यास लिन पाउने व्यवस्था तीन दिनमै सीमित हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले बुधबारपछि संयुक्त बिक्री बन्द गरी पुरानै व्यवस्थाअनुसार डिलरमार्फत ग्यास बिक्री गर्ने जनाएको छ।
उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन सक्ने व्यवस्था मिलाउने उद्देश्यले उद्योगीहरूले असोज २५ गतेदेखि संयुक्त बिक्री सुरु गरेका थिए। सुरुमा ६ वटा बिक्री केन्द्रबाट थालिएको व्यवस्था सोमबार १० वटा केन्द्रमा विस्तार गरिएको थियो। तर, संयुक्त बिक्री सुरु गरेको केही दिनमै उद्योगीहरूले यसलाई बन्द गर्ने निर्णय गरेका हुन्।
संघका अध्यक्ष दिवान चन्दका अनुसार बिहीबार र शुक्रबार डिलरमार्फत नियमित ग्यास आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त बिक्रीलाई निरन्तरता दिन नसकिने भएको हो। यससँगै उपभोक्ताले अब आफ्नो नजिकको डिलरबाटै ग्यास खरिद गर्नुपर्नेछ।
संयुक्त बिक्री सुरु भएपछि पनि उपभोक्ताको सास्ती भने कम हुन सकेको छैन। १० वटा बिक्री केन्द्रमा ग्यास लिन उपभोक्ताको लामो लाइन लाग्न थालेपछि थप समय खर्चिनुपर्ने अवस्था आएको छ। नजिकैको डिलरबाट नियमित रूपमा ग्यास बिक्री नहुँदा टाढाका बिक्री केन्द्रसम्म पुग्नुपरेको उपभोक्ताको गुनासो छ।
संघले भने बजारमा ग्यासको अभाव नरहेको र भारतका विभिन्न रिफाइनरीबाट नेपाल आयल निगममार्फत ग्यासको आयात सहज भइरहेको दाबी गरेको छ। संघका अनुसार २०८३ साल भदौमा मात्रै काठमाडौं उपत्यकामा ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री भएको थियो।
ग्यासको बिक्री परिमाण ठूलो रहेको र आयातसमेत सहज भइरहेको दाबी गरिए पनि चाडपर्वका बेला उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। यस्तो अवस्थामा संयुक्त बिक्री बन्द गरेर पुरानै वितरण प्रणालीमा फर्किँदा उपभोक्ताको समस्या समाधान हुने हो वा डिलरमा पुनः भीड बढ्ने हो भन्ने प्रश्न उठेको छ।
उद्योगीहरूले भने उपभोक्तालाई आफ्नो नजिकको डिलरबाट ग्यास खरिद गर्न आग्रह गरेका छन्।

