काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउन र भदौमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । यस वर्ष विप्रेषण आप्रवाहको वृद्धिदर अघिल्लो वर्षको तुलनामा कम देखिएको छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।
यता, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९० हजार १९८ थियो ।
त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५१ हजार १३६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले विप्रेषण आप्रवाहको कुल रकम बढेको देखाए पनि अघिल्लो वर्षको तुलनामा यसको वृद्धिदर भने सुस्त भएको देखाएको छ ।

