काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मंगलबार भएको दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको हो।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा समेटियो। सुरुवातदेखि नै विकेट गुमाएको जनकपुरले लक्ष्य पूरा गर्न सकेन।
जनकपुरका लागि अभिषेक तिवारी र कप्तान हरमित सिंहले समान २० रन बनाए। मोइन अलीले १९, जिमी निशमले १५ तथा मयन यादवले १४ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेख्य रन जोड्न नसक्दा जनकपुरले हार बेहोर्नुपर्यो।
कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलातले समान तीन विकेट लिए। नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। कर्णालीका लागि बंगलादेशी ब्याटर अरिफुल इस्लामले ४३ रन बनाए भने पवन सर्राफले ३७ रन जोडे। दीपक डुम्रेले १३ र गुल्सन झाले १२ रनको योगदान दिए।
जनकपुरका कप्तान हरमित सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।
१३३ रनको लक्ष्य सफलतापूर्वक रक्षा गर्दै कर्णालीले एनपीएलमा आफ्नो पहिलो खेलमै दुई अंक जोडेको छ।

