काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गरिने जनाएको छ। इच्छुक ग्राहकले कात्तिक १९ र २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म महाशाखाबाट खरिद गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान बिक्री गरिनेछ। त्यसैगरी, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि बिक्री गरिनेछन्। ग्राहकले चाँदीका मेडालियन बढीमा दुई थानसम्म खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
असर्फी तथा मेडालियन खरिद गर्न नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अथवा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ। खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
सुनको असर्फी तथा चाँदीको मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गरिनेछ। मूल्य निर्धारण भएपछि मात्र बिक्री प्रक्रिया सुरु हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

