काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका आन्तरिक निर्वाचन, अधिवेशन तथा सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत बनाउन सातबुँदे निर्देशन जारी गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्देशनमा पद, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब तथा अन्य कुनै पनि अनुचित प्रभावका आधारमा उम्मेदवार छनोट नगर्न स्पष्ट पारेको छ ।
केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीका अनुसार पार्टीका विभिन्न तहमा हुने अधिवेशन, आन्तरिक निर्वाचन तथा सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीको विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशन पूर्ण रूपमा पालना गर्नुपर्नेछ ।
निर्वाचन समितिले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि तोकिएको विधि र प्रक्रियाअनुसार मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । कुनै पनि तहमा अनधिकृत वा समानान्तर प्रक्रिया सञ्चालन गर्न नपाइने पनि स्पष्ट पारिएको छ ।
त्यस्तै, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य अनुचित प्रभाव प्रयोग गरी निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रिया प्रभावित गर्न नहुने निर्देशनमा उल्लेख छ । सबै योग्य सदस्य तथा उम्मेदवारलाई समान अवसर सुनिश्चित गर्नुपर्ने समितिको भनाइ छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी आवेदन दिँदैमा उम्मेदवारी सुनिश्चित नहुने पनि रास्वपाले स्पष्ट पारेको छ । आवेदन दिएका आधारमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट उम्मेदवारी घोषणा गर्ने तथा प्रचारप्रसार गर्ने कार्यलाई विधिविपरीत मानिनेछ ।
पार्टीले उम्मेदवार छनोटका लागि नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्याङ्कन, प्रारम्भिक निर्वाचनलगायत तोकिएका सबै प्रक्रिया पूरा गरेपछि मात्रै अन्तिम निर्णय गर्ने जनाएको छ ।
यसैगरी, बाँकी रहेका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका अधिवेशनको तयारी र प्रक्रिया अघि बढाउँदा सम्बन्धित माथिल्लो तहका पार्टी नेतृत्व तथा विभागसँग आवश्यक परामर्श र समन्वय गर्न निर्देशन दिइएको छ ।
सम्बन्धित अधिवेशनको आधिकारिक मिति र कार्यतालिका घोषणा हुनुअघि कुनै पनि सदस्यले नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा वा प्रचारप्रसार गर्न नपाउने समितिले जनाएको छ ।
अध्यक्ष केसीले पार्टीको निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रिया व्यक्तिगत पहुँच वा पदको प्रभावमा नभई तोकिएको विधि, योग्यता र निष्पक्ष मूल्याङ्कनका आधारमा अघि बढ्ने बताएका छन् । उनका अनुसार पार्टीभित्रको निर्वाचन र उम्मेदवार छनोटमा सबै योग्य सदस्यलाई समान अवसर प्रदान गरिनेछ ।

