काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उनी कात्तिक १७ गते नेपाल आइपुगेका थिए ।
त्यस्तै, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएलले पनि राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
भारतका राजदूत दलेला आवासीय राजदूत हुन् भने लाओसका राजदूत जायाभोङ र पानामाका राजदूत मिगुएल गैरआवासीय राजदूत हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार नवनियुक्त तीनै जना राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रसिलासहितको बग्गीमा सवारी गराइएको थियो ।

