काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामको विद्युत् माग व्यवस्थापनका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो ।
प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म उक्त अनुमति पाएको छ । बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको समयबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ ।
अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारणलाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारणलाइनबाट ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएसँगै आगामी हिउँदयाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुने बताए ।
रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारणलाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यही अवस्थासमेतलाई ध्यानमा राखेर हिउँदयामको आपूर्ति व्यवस्थापनका लागि तयारी गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको प्रक्षेपणअनुसार यस वर्ष पुसदेखि चैतसम्म चार महिना आन्तरिक विद्युत् उत्पादनभन्दा माग बढी हुनेछ । त्यस अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहनेछ ।
विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट विद्युत् निरन्तर आयात गर्नुपर्ने अनुमान गरिएको छ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात आवश्यक पर्ने आकलन छ । पुस र चैतमा तुलनात्मक रूपमा कम आयात गरे पुग्ने प्राधिकरणको अनुमान छ ।
आगामी वैशाखदेखि नदीमा पानीको बहाव बढ्दै जाँदा आन्तरिक विद्युत् उत्पादनमा वृद्धि हुने र आयात घटाउँदै पुनः विद्युत् निर्यात सुरु गर्न सकिने अपेक्षा गरिएको छ ।
यसैबीच, प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।
प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म उक्त विद्युत् निर्यात गर्न सक्नेछ । यसले हिउँदयाममा आवश्यकताअनुसार विद्युत् आयात र उत्पादन बढी भएका समयमा निर्यात गर्ने व्यवस्थापनलाई निरन्तरता दिनेछ ।

