मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २०/२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन् । त्यस्तै, चन्द्रनिगाहपुरबाट सुमोमा चढेकी नामथर र वतन नखुलेकी एक महिलाको पनि मृत्यु भएको छ ।
दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर नगरपालिका–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन् ।
घाइतेहरूलाई स्थानीय बासिन्दा र प्रहरी चौकी भैँसेको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

