काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेको भन्दै उनीहरूको पद रिक्त भएको सूचना प्रकाशित गरेको हो ।
आयोगले बिहीबार प्रकाशित गरेको सूचनाअनुसार स्थानीय तह निर्वाचन २०७९ मा जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित जनप्रतिनिधिले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयसहित आयोगमा जानकारी गराइएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिले निर्वाचन आयोगलाई गराउनुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले बुधबारदेखि लागू हुने गरी सम्बन्धित जनप्रतिनिधि निर्वाचित भएको पद स्वतः रिक्त भएको जनाएको छ ।
पद रिक्त हुनेमा सिराहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना रहेका छन् ।
सिराहाको लहान नगरपालिकाका उपप्रमुख रामचरित्र महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार महतोको पद रिक्त भएको छ ।
त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ ।
खोटाङमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न पदमा निर्वाचित छ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । पद गुमाउनेमा वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई, महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र सहरमनि राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नाल रहेका छन् ।
यसैगरी, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार मेन्वाङ्बा र सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष डालबहादुर गुरुङको पद पनि रिक्त भएको छ ।
सुनसरीको कोसी गाउँपालिका–६ का वडाध्यक्ष जुडीलाल कोड्गियाको पदसमेत रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । यससँगै जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित १८ जना स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पद गुमाएका छन् ।


