कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो ।
चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । टोलीको जितमा थरिन्दु रत्नायकेले अविजित ५३ रन बनाउँदै निर्णायक भूमिका खेले । उनले दबाबपूर्ण अवस्थामा टोलीलाई जितसम्म पुर्याए ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले २३, दीपेन्द्रसिंह ऐरीले १५ तथा ईशान पाण्डे र आरिफ शेखले समान १० रन बनाए ।
चितवनका बलर रञ्जित कुमार र कमलसिंह ऐरीले समान दुई विकेट लिए । सलाउद्दिन खान, उम्मा मिर र रिजन ढकालले एक–एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । सलाउद्दिन खानले १८ तथा कमलसिंह ऐरीले १० रन बनाए ।
सुदूरपश्चिमका स्कट कुग्लेइनले तीन विकेट लिए । थरिन्दु रत्नायकेले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एक विकेट लिए ।
यसअघि पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायर जित्दै फाइनलमा स्थान बनाएको हो । चितवनले भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
अब सुदूरपश्चिमले उपाधिका लागि गत सिजनको च्याम्पियनसँग पुनः प्रतिस्पर्धा गर्नेछ ।

