काठमाडौं । सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका ३२ जना सहसचिव वा सो सरहका कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय, प्रदेश सरकार, संवैधानिक आयोग तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा तथा नयाँ जिम्मेवारी तोकिएको हो ।
निर्णयअनुसार वीरगञ्ज महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत फेरिएका छन् । अर्थ मन्त्रालयमा कार्यरत सहसचिव निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यसअघि उक्त पदमा कार्यरत बसन्तबहादुर बोहरालाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्मालाई हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ । त्यहाँ कार्यरत टेकबहादुर वलीलाई भने अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी गृह मन्त्रालयका मदन कोइराला र कोशी प्रदेशका प्रदेश सचिव अस्मान तामाङलाई राष्ट्रपति कार्यालयमा पठाइएको छ । गृह मन्त्रालयकी सहसचिव स्किम श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयबाट विनु बज्राचार्य कुँवरलाई सूचना तथा सञ्चार मन्त्रालय, प्रदीपकुमार कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र इन्द्रदेव यादवलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।
मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका प्रदेश सचिवहरू वीरेन्द्रकुमार मिश्र, गीता कुमारी होमेगाईं र विमलप्रसाद बरालसहित दीपक लामिछाने, तुलसीराम भट्टराई र शिवप्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गतको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी पार्वती अर्याल, तारानाथ अधिकारी र कोशी प्रदेशकी प्रदेश सचिव नीता शर्मालाई अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
सहसचिव ज्ञानराज सुवेदीलाई राष्ट्रिय योजना आयोगको सचिवालय, ऊर्जा मन्त्रालयका गोकर्णराज पन्थलाई लगानी बोर्डको कार्यालय र उद्योग मन्त्रालयकी कुमारी ज्योती जोशीलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको छ ।
यसका अतिरिक्त पूर्वाधार, कृषि तथा प्रदेशका विभिन्न मन्त्रालय र सरकारी निकायमा कार्यरत सहसचिवहरूको कार्यक्षेत्रसमेत परिवर्तन गरी नयाँ जिम्मेवारी तोकिएको छ । सरकारले एकैपटक ३२ जना सहसचिवको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो ।




