काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ। आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको हो।
यो नेपालको १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल थियो। यस ऐतिहासिक खेलमा नेपालले ५०औँ जित निकाल्दै खुसी दोब्बर बनाएको छ।
यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। उनले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाए। मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रनको योगदान दिए।
यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले १–१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० र हरप्रीत सिंह भाटियाले ३२ रन बनाए। नूर उल्लाह अयोबीले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ११ रन मात्र खर्चेर ३ मेडनसहित ३ विकेट लिए। कुशल भुर्तेलले पनि ३ विकेट हात पारे। यस्तै नन्दन यादव, रासिद खान र ललित राजवंशीले १–१ विकेट लिए।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत एसँग निराशाजनक प्रदर्शन गरेको थियो। उक्त खेलमा नेपाल २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोर्न बाध्य भएको थियो।
नेपालले अब मंगलबार पाकिस्तानसँग खेल्नेछ।

