काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान तथा ऊर्जामन्त्री एवम् एमालेका निलम्बित सांसद टाेपबहादुर रायमाझी र नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएकाे छ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले १३ दिन लामो थुनछेक बहसपछि १६ जनालाई जेल चलान र लक्ष्मी महर्जन र टंक गुरुङलाई धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे।
मर्हजनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे। जेल चलान हुनेहरुमा रायमाझी र खाँडसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, टेकनाथ रिजाल, इन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी र रामशरण केसी रहेका छन्।