काठमाडौं । नेपाल चिकित्सक संघले हेटौंडामा बिरामीको उपचार गरिरहेको अवस्थामा दुई चिकित्सकमाथि भएको आक्रमणमा संलग्न सबैलाई तत्काल कारबाही गर्न माग गरेको छ । आफूहरूमाथि आक्रमण उत्रनेविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम ७२ घण्टाभित्र कारबाही नभए आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने पनि चिकित्सक संघले चेतावनी दिएको छ ।
चिकित्सक संघले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको हो । चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारीले ज्यानै मार्ने किसिमको घटना अस्पतालको सीसीटीभीमा कैद भइ सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा पनि सुरक्षा निकायले यो विषयलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।
पछिल्ला दुई दिनमा चिकित्सकमाथि हातपात तोडफोडसम्बन्धी तीन वटा घटना भइसकेको जनाउँदै चिकित्सक सघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले भने, ‘४ जना समातिएको भनिरहेका छन् तर हामी उनीहरूलाई कुन ऐनअन्तर्गत कारबाही गर्न खोज्दै छ भन्ने कुरा हेरिरहेका छौं ।’