काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका ११ चितिमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को वडा कमिटी गरिएको छ ।
शनिबार आयोजित भेलाले ई. मिलन कमलीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा कृष्ण पाण्डे, सचिवमा सुभास तामाङ तथा सदस्यहरूमा कृष्णबहादुर भण्डारी, उत्तमराज पाण्डे, सीता भुजेल, भीमबहादुर क्षेत्री, भगवान सिलवाल, उद्धवराज सेढाई, कृष्णबहादुर तामाङ र सुकलाल विक चयन भएका छन् ।
यसैगरी, सल्लाहकारमा रामचन्द्र बस्नेत, रामजी पाण्डे र प्रेमबहादुर बोगटी चयन भएका छन् ।
त्यस्तै, पालिकाका विभागका सदस्य पदका लागि सिफारिस भएका अन्य व्यक्तित्वहरूमा दिनेश सिलवाल, सुरेन्द्र पन्त, राजन तामाङ र रामजी जोशी चयन भएका निर्वाचन क्षेत्र समिति लमजुङका संयोजक भोला शर्माले जानकारी दिए । उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय संसदका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सुशासन र स्वाभिमानको राष्ट्रिय अभियान रहेको बताए ।
उनले राष्ट्रकवि माधव घिमिरेले लेखेको कविता पंक्ति ‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको’को स्मरण गर्दै हुँदै आज चितिजस्तो शिक्षित गाउँ किन उजाड भएको छ ? राजनीतिमा बुद्धि विबेक मिलाउने काम नगरिएको र गन्ध(भ्रष्ट) राजनीतिका कारणले मर्स्याङदी रोएर सुसाएको हो तर अब मर्स्याङदीलाई हसाउनु पर्छ र त्यो काम रास्वपाले गर्ने बताए ।
उनले जनता बलियो भएमात्र राज्य अर्थात सरकार बलियो हुन्छ, जनता कंगाल हुँदा राज्य बलियो हुन सक्दैन त्यसैले सुशासनका साथ जनतालाई बलियो बनाउने अभियानमा आफूहरू लागि परेको उल्लेख गरे । पार्टीका दस्तावेजहरू आउँदो अधिवेशनमा पारित गर्ने गरी तयार हुँदै गरेको जानकारी दिँदै उनले रास्वपा अग्रगामी, लोकतान्त्रिक, प्रगतिशील पार्टी भएको बताए ।
सो अवसरमा पार्टीको केन्द्रीय अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले ४८ वर्ष अघि आफू चिति आएको स्मरण गर्दै त्यो बेलामा र आजको दिनमा फरक भनेको २– ४ वटा घर थपिनु बाहेक खास केही भएको रहेनछ यो दुःखद स्थिति हो र यस्तो किन भयो ? भन्दा सुशासनको अभावले भएको बताए । उनले रास्वपा भ्रष्ट निषेधित पार्टी हो भन्दै विशुद्ध मान्छेको छनौट गर्नु हाम सबैको दायित्व भएको बताए । रास्वपा वडा तह देखिनै विकृति मास्न चाहन्छ भन्दै त्यसका लागि अबका दिनमा चितिबासीको पनि साथ सहयोग रहने छ भन्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा रास्वपाका जिल्ला संयोजक धर्म केसीले आफूले संघीय संसदको चुनाव ताका ५– ७ जना मानिस भएर हिँड्दा पनि नौ हजार बढी सदर मत र झण्डै तीन हजार बदर मत पाएको स्मरण गर्दै तर आजको जस्तो भिड त्यो बेलामा हुन पाएको भए परिणाम कस्तो हुन्थ्यो होला ? भने । उनले लमजुङमा आउँदो स्थानीय तह निर्वाचनमा नै ३९१ जना योग्य उम्मेदवारको आवश्यकता पर्छ त्यसैले ती पदका लागि योग्यको खोजीमा आजकै दिनबाट सुरु गरौं र यहाँहरू पनि तयार हुन आग्रह गरे ।
यसैगरी, काठमाडौं क्षेत्रनं– ७ का सदस्य कैलाश सिलवालले अन्य दलको नेताका समेत अनेक गुटले विकासमा बाधक बनिरहेको उल्लेख गर्दै त्यस्तो स्थितिलाई अन्य गर्नका लागि पनि रास्वपाको जन्म भएको हो, भविष्य भनेको यही दलको मात्र रहेको बताए ।
उक्त कार्यक्रममा निर्वाचन क्षेत्र समितिको सदस्य भोला शर्माले स्वागत गर्दै ठूला भनिने तीन पार्टीले राम्रो काम गरेको भए विकल्पका रुपमा रास्वपा जन्मिनु नपर्ने बताए । उनले आफ्नै हातले हालेको भोटले चोट दिएको हुँदा अब भोट दिँदा निकै विचार गर्ने बेला आएको बताए ।
यसैगरी, केदार पन्तले आफूले प्रहरी सेवामा काम गर्दा थाहा पाएका विकृति त्यो बेलामा बर्दीको अनुशासनका कारणले भन्न मिल्दैनथ्यो तर अब भने छुट भएको छ र कहाँ कहाँ बदमासी हुन्छ त्यो कसरी कस्को इशारामा गरिन्छ भन्ने छर्लङ्ग भएको बताए । रास्वपाका बेसीशहर नगर सभापति कृष्ण राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन प्रतीभा बास्तोलाले गरेकी थिइन् ।