काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले,हतार गरेर संविधान संशोधन गर्नुपर्ने अवस्था नआएको बताएका छन्।
मंगलबार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले संविधान संशोधन गर्नुपर्ने आवाज उठिरहेका उनले तत्काल हतार गरेर संविधान संशोधन गर्नु पर्दैन भनेका हुन्।
हतारमा भन्दा केही समय लिएर एकै चोटि संशोधन गर्नु राम्रो हुने भन्दै उनले गम्भीर रुपमा छलफल गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताए। उनले भने, ‘एउटा हिसावले संविधान संशोधन गर्ने बेला भएको छ कि छैन भन्ने कुरामा के लाग्छ भने अहिले पनि गम्भीरता भन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित र आयातित कुराहरुबाट प्रेसर गर्ने खालका प्रवृतिहरु देखिइरहेका हुनाले र अनेक प्रकारका बेठिक उद्देश्यहरु देखिएको हुनाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न चाँहि विर्सन हुदैन। त्यसकारण यसमा कुनै हतारो गर्नुपर्ने अवस्था आएको छैन।’
दबाब र भावनामा बगेर भन्दा आवश्यकता र औचित्यलाई पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ। तर, संविधान संशोधन नै गर्न नहुने भन्नेमा आफूहरु नरहेको ओलीको भनाइ छ।