काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका बिहीबार बिहान मतदान हुने भएको छ । बुधबार दिनभरि पानी परेको र उम्मेदवारी दर्ता गर्न ढिलाइ भएकाले बिहीबार मात्र मतदान गर्ने तयारी भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।
प्रदेश नेतृत्व चयनका लागि मेसिनबाट मतदान हुनेछ । यसअघि नेकपा एमाले प्रदेश अध्यक्ष नवराज शर्माले १७ गते साँझसम्म नतिजा आइसक्ने बताएका थिए । अधिवेशनका लागि गण्डकीका विभिन्न जिल्लाबाट ९ सय ८ प्रतिनिधि पोखरा आएका छन् । उनीहरुका लागि २१ वटा होटल बुक गरिएका छन् ।
नयाँ नेतृत्व चयनका लागि एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधरबीच प्यानलै बनाएर निर्वाचनमा होमिइँदैछन् ।
पृथ्वीसुब्बा प्यानलबाट प्रदेश अध्यक्षका लागि नवराज शर्मा, उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, पोखरेल प्यानलबाट अध्यक्षमा मायानाथ अधिकारी, उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मी आचार्य, उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।