काठमाडौं । चक्रीय अन्नपूर्ण पदमार्गको मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी बगैंचामा पर्यटक साथै वन पैदावार चेक पोष्ट स्थापना गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत इलाका संरक्षण कार्यालय भुजुङले पर्यटक प्रवेश शुल्क काउन्टरसहित पर्यटक चेक पोष्ट र वन पैदावार चेक पोष्ट स्थापना गरेको हो ।
यसअघि बेसिशहरमा सञ्चालन हुँदै आएको पर्यटक प्रवेश शुल्क काउन्टर पनि उक्त ठाउँमा स्थानान्तरण गरिएको छ । उक्त ठाउँमा रहेको पर्यटक चेक पोष्ट कोरोना संक्रमणका समय कटौती गरिएको थियो । अहिले चेक पोष्ट पुनस्र्थापनासंगै पर्यटक प्रवेश शुल्क काउन्टर र वन पैदावार चेक पोष्ट पनि उक्त ठाउँमा स्थापना गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका कार्यालय प्रमुख राजेश प्रसाद गुप्ताका अनुसार उक्त कार्यालयबाट पर्यटक अनुमति पत्र जारी, पर्यटक प्रवेश पत्र चेकजाँच साथै पर्यटकलाई सूचनालगायत सेवा दिइनेछ ।
चेक पोष्ट र पर्यटक प्रवेश काउन्टरको बुधबार उद्घाटन गर्दै मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पर्यटक साथै वन पैदावार चेक पोष्ट स्थायी रुपमा हुन आवश्यक रहेको बताए ।
हेर्नुहोस् भिडियो