काठमाडौं । जाजरकोट भूकम्पमा परी धेरैले ज्यान गुमाए भने कति घाइते भएका छन् । यसैमध्येकी एक हुन् जाजरकोटकी १९ वर्षीय जमुना बुढामगर अहिले एकैसाथ दुई पीडाबाट गुज्रिरहेकी छिन् । गत शुक्रबार राति गएको भूकम्पले उनको संसार नै उजाडि दिएको छ । आफ्नो प्रेमलाई विवाहमा परिणत गरेको केही महिना मै श्रीमानको साथ सँगसँगै पेटमा रहेको उनीहरुको मायाको चिनो आठ महिने शिशुलाई पनि गुमाइन् ।
भूकम्पमा घाइते भएर भेरी अञ्चल अस्पतालको बेडमा छटपटाइरहेकी जमुना बुढामगरलाई बाँचेकोमा कुनै हर्ष छैन । बरु उनलाई पश्चात्ताप भैरहेको छ । पति र गर्भमा हुर्किरहेको शिशुको वियोगमा उनी एकसुरमा अस्पतालको भित्ता कोट्याइ रहन्छिन् ।
उनी कोहीसँग कुरा गर्दिनन् । एक्लै आँसु झार्दै बर्बराउँछिन् । शुक्रबार रातिसम्म सँगै भएका श्रीमान् अहिले नरहेपछि उनी गहिरो शोकमा छिन् ।
भूकम्पपीडितहरुको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा निकै गहिरो लागिरहेको छ । पेटको बच्चा नरहेको कुरा उनलाई थाहा भएपनि बेलाबेलामा उनी आमालाई आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधि रहन्छिन् ।
जमुना कहिले राम्रैसित बोल्छिन भने कतिबेला बोल्दै बोल्दिनन् । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितिसकेको छ तर जमुनाको होस पूर्णरूपले फर्किएको छैन । रेखदेख गर्न आएकी आमा जमुनाको यो अवस्था देखेर छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिरहन्छिन ।
शोकमाथि शोकले हामीलाई थिचिरहेको छ, जमुनाकी आमा पवित्रा खडका मगरले भनिन्, भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई छोरीको चिन्ताले सताइरहेको छ ।
शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताए ।
जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत चौरजहारीसम्म ल्याइएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्रबाट मरेको शिशुलाई निकालिएको हो । शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसानघाटमा नै गरिएको बुवा भागिरामले बताए ।
आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।
भूकम्पमा थिचिएर उनको गर्भको बच्चा चल्न छाडिसकेको थियो । चिकित्सकले व्यथा लगाउने औषधि दिएर आइतबार राति उनको गर्भबाट मृत बच्चा निकालेका हुन । ‘यहाँ ल्याउँदा नै बच्चा चल्न छाडिसकेको थियो । परीक्षणमा बच्चा मरिसकेको थाहा भएपछि व्यथा लगाउने औषधि दिएर निकालियो’, उनको उपचारमा संलग्न चिकित्सक डा.नविन बुढाथोकीले भने ।
जमुनाले बच्चा जन्माउन एक महिना मात्र बाँकी थियो । यस्तो स्थितिमा मृत बच्चा निकाल्न अपरेसन गर्नुपर्ने हुनसक्थ्यो । तर, व्यथा लगाउने औषधिबाटै बच्चा निकाल्न सफल भएको डा.बुढाथोकी बताउँछन् ।