काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको हर्सिङडाँडामा दैनिक ४० देखि एक सय जनासम्म पर्यटक जाने गरेका छन् । स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङका अनुसार विगतमा ओझेलमा पर्दै आए पनि केही समयदेखि भने पर्यटक घुम्न तथा बास बस्ने गरेर आउने गरेका छन् ।
विस्तारै मौसम राम्रो हुँदै गएको र बाटोसमेत राम्रो भएकाले पर्यटक वृद्धि हुने स्थानीय सुरज गुरुङले बताए । यस स्थानमा चार युवा मिलेर खाना र बस्नका लागि पूर्वाधार निर्माण गरेपछि पर्यटक आगमनमा बढेको हो । पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवा मिलेर रु ११ लाख लगानीमा खाना–बस्नका लागि ३५ जनासम्म अट्ने हल निर्माण गरेका छन् । यहाँ आउने पर्यटकलाई अग्र्यानिक खानाखाजा दिने गरिएको छ ।
यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको स्थानीयको भनाइ छ । यसै वडामा विसं १८०२ मा खुदीको ढङ्गैबेसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा वस्तुभाउ चराउने, छेलो हान्ने गरेका थिए ।