काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिनुभएको र प्रधानमन्त्री दाहालले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गर्नुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपालको संविधानको धारा ८६ को उपधारा ३० बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गते सम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।