काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धले रिट निवेदकलाई अपूरणीय क्षति पुगेको बलियो आधार पेश हुन नसकेको टिप्पणी गरेको छ ।
टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र सरकारसँग लिखित जवाफ मागेको थियो ।
बिहीबार उक्त आदेशको लिखित रूप सार्वजनिक गर्दै सर्वोच्च अदालतले रिट निवेदकहरूले प्रतिबन्धले नागरिकलाई अपूरणीय क्षति पुग्न जाने वस्तुपरक आधार पेश गर्न नसकेकाले अन्तरिम आदेश जारी गर्न नमिलेको उल्लेख गरेको हो ।
आदेशमा भनिएको छ, ‘टिकटकको वैधानिकता, नेपाल कानुनको दायरा, परिपालना नियमन एवं व्यवस्थापन समेतका सम्बन्धमा लिखित जवाफ पेश भएपछि अन्तिम सुनुवाइका बखत टुङ्गो लाग्नु उपयुक्त देखिएको साथै निवेदकहरूलाई अपूरणीय क्षति पुग्न जाने वस्तुगत एवं तथ्यपरक आधार समेत नदेखिएको अन्तरिम आदेश जारी गर्न मिलेन ।’