काठमाडौं । सुत्केरी र शिशुको मृत्यु घटनापछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ। बिहीबार पीडित पक्षले अस्पतालमा तोडफोड सुरु गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडपको स्थिति बन्यो।
आक्रामक पीडित पक्षले अस्पतालमा ढुङ्गामुडा गर्ने, टायर बाल्ने, उपचारमा संलग्न चिकित्सकको कारबाहीको माग सहित प्रदर्शन गरेका थिए। अवस्था तनावग्रस्त बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै ८ सेल अश्रुग्यास समेत प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। प्रदर्शनकारी ढुङ्गा प्रहारबाट दुई प्रहरी समेत घाइते भएको उनले जनाए।
शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडितले लमजुङ अस्पतालमा बुधबार पनि प्रदर्शन गरेका थिए । मस्र्याङ्दी गाउँपालिका ९, पामचोक दलितवस्तीकी २६ वर्षीया गर्भवती शोभा विक र उनको शिशुको उपचारको क्रममा मृत्यु भएको घटनाबारे छानविन गर्न छानविन तथा अध्ययन समिति गठन गरिएको छ । पोखराबाट टोली आउने भनिए पनि समयमा नआएको भन्दै पीडित आफन्त तथा स्थानीयले प्रदर्शन गरेका हुन् ।