काठमाडौं । सुनको मूल्यले अन्तर्राष्ट्रिय बजारमा लगातार दोस्रो दिन सोमबार नयाँ कीर्तिमान कायम गरेको छ । सुनको मूल्य प्रतिऔंस २१०० डलरको उचाईलाई चुमेको छ । विश्लेषकहरुले सुनको मूल्य यतिमै नरोकिने र अझै बढ्ने प्रक्षेपण गरिरहेका छन् । नेपाली बजारमा समेत त्यसकै प्रभावले सुनको मूल्य लगातार बढिरहेको छ । हाल १ लाख २० हजारभन्दा माथि छ ।
भू-राजनीतिक अनिश्चितता, कमजोर अमेरिकी डलर र सम्भावित ब्याजदर कटौतीलाई उद्धृत गर्दै विश्लेषकहरूले सुनको भाउ अर्को वर्ष नयाँ उचाइमा पुग्ने घोषणा गरेका छन् । सन् २०२४ मा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २००० डलरभन्दा माथि नै रहनेछ ।
इजरायल–प्यालेस्टाइन द्वन्द्वले सुरक्षित लगानी खोज्ने लगानीकर्ताहरुका कारण सुनको मूल्य लगातार बढिरहेको हो । सुनको लगानीलाई विश्वमा सबैभन्दा सुरक्षित मानिन्छ । आर्थिक र भूराजनीतिक अनिश्चितताको अवधिमा सुनमा लगानी गर्नेहरुको भीड बढ्ने गर्छ ।
सिएनबीसीसँग कुरा गर्दै यूओबीका मार्केट रणनीतिकार, ग्लोबल इकोनोमिक्स र मार्केट रिसर्च प्रमुख हेङ कुनले अमेरिकी डलरको भाउ र ब्याजदरका कारण सुनको मूल्य अझै बढ्नसक्ने दाबी गरेका छन् । उनले सन् २०२४ मा सुनको मूल्य बढेर प्रति औंस २२०० डलरसम्म पुग्नसक्ने प्रक्षेपण गरेका छन् ।
सन् २०२० को अगस्ट ७ मा सुनको मूल्य प्रतिऔंस २०७५.०९ डलर थियो भने सोमबा प्रति औंस २११०.८ को नयाँ उचाई बनायो । टीडी सेक्युरिटीजका कमोडिटी रणनीतिका प्रमुख बार्ट मेलेकले सुनको मूल्य सन् २०२४ को दोस्रो त्रैमासिकमा औसत २,१०० डलर हुने अपेक्षा गरेका छन् ।