काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद–बिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ ।
आज बुधबार बसेको बैठकले मलेसियाली कम्पनी आजियाटाले एनसेलको शेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै विस्तृत अनुसन्धान हुनुपर्ने ठहर गरेको छ ।
विस्तृत अनुसन्धान नहुँदासम्म एनसेलको शेयर खरिदबिक्री सम्बन्धी कारोबारलाई यथास्थितिमा राख्न निर्देशन दिएको छ । समितिको निर्णयमा भनिएको छ, ‘हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत रूपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले अनुसन्धान गरी निष्कर्षमा नपुगुञ्जेलको अवधिभरका लागि यस शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई यथास्थितिमा राख्न तथा यस विषयमा वास्तविकता तथा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न गराउन समितिको बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।’
लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । एनसेलका विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै समितिमा बोलाउने निर्णय समेत गरेको छ ।