काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को २४औं साधारण सभा सम्पन्न भएको छ । विज्ञापन बजारलाई बृहत र व्यवस्थित बनाउने उद्देश्यसाथ होटेल अरण्य बुटिकमा संघले साधारण सभा सम्पन्न गरेको हो ।
संघको साधारण सभाकी प्रमुख अतिथी सञ्चार तथा सुचना प्रविधीमन्त्री रेखा शर्मा थिइन् । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ, विज्ञापन बोर्ड, विभिन्न संघसंस्था तथा सञ्चार उद्यमीहरू उपस्थित थिए ।
शुभकामना मन्तव्य दिँदै मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लील र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्यका लागि नियमावली तुरुन्तै जारी गर्ने तयारी भैरहेको बताइन् ।
सरकारले विज्ञापन नियमावली ल्याएर एजेन्सीको पहिचान गराएको तथा संघका सुुझावहरूलाई सँधै सकारात्मक रूपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने उनले बताइन् ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरू र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताए ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले संघबाट बोर्डका हरेक कदममाा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए ।