काठमाडौं । उच्च अदालत पाटनले इपिएस परीक्षामा भाग लिन वञ्चित सबै कामदारलाई परीक्षामा सामेल गर्न अन्तरिम आदेश दिएको छ।
इपिएस परीक्षामा भाग लिन पाउनुपर्ने भन्दै उत्पादन मूलक काममा विदेशमा जान चाहने युवाले आन्दोलन गरिरहेका छन्। उच्च अदालतमा भएको सुनुवाइपछि रिट निवेदकको पक्षमा अन्तरिम आदेश जारी भएको हाे। उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ईपीएस कोरिया शाखालाई परीक्षामा सहभागी गराउन केही समय अघि अन्तरिम आदेश दिएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम तथा रोजगार विभागका नाममा अन्तरिम आदेश दिएको थियो।
इपिएस परीक्षामा भाग लिन पाउनुपर्ने मागसहित गणेश राईलगायत युवाले बिहीबार उच्च अदालत पाटनमा भिन्नाभिन्नै नौ वटा रिट दिएका थिए। सबै रिटमा एकमुष्ट अन्तरिम आदेश भएको छ। आदेशको लिखित प्रति आउन भने बाँकी रहेको जनाइएको छ।