काठमाडौं । लमजुङको कालिका सहकारी ठगी प्रकरणका मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ परेका छन् । काठमाडौंको धापासीमा लुकीछिपी बसेको अवस्थामा उनलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । सहकारी ठगीमा मुख्य दोषी भनिएकी उनकी श्रीमति विनिता अधिकारी घिमिरे भने अझै फरार छिन् । गएको बडादशैं अगावै उनीहरुबिरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेकोमा उनीहरु फरार रहँदै आएका थिए ।
उनलाई काठमाडौंमा पक्राउ गरिएको बारे जिल्ला प्रहरी कार्यालय लमजुङले पुष्टि गरेको छ । सहकारी ठगीको मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारी सम्बद्ध ३४ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा पहिलो चरणमा ६ जना र त्यसपछि थप १ जना गरी ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
त्यतिबेला पक्राउ परेका ७ जना जिल्ला अदालत लमजुङको आदेशमा धरौटीमा रिहा भइसकेका छन् । जिल्ला अदालत लमजुङले फरार रहेका २७ जना विरुद्ध पुनः दोस्रो पटक पक्राउ पूर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको म्याद सकिनै लाग्दा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो । अदालतले दिएको म्याद बुधबार सकिने बताइएको छ ।