काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन गरेको छ ।
सो निर्वाचनका लागि प्रदेशसभा सदस्यहरू, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख निर्वाचक मण्डलमा रहने र निर्वाचक मण्डलका सदस्यहरू प्रदेशभर छरिएर रहेकाले आफू रहेका स्थानीय तह वा जिल्लाबाट मतदान केन्द्रसम्म मतदान प्रयोजनका लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउन आयोगले निर्देशन दिएको हो ।
राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि २० सदस्य रिक्त हुँदैछन् । तीमध्ये १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ । आयोगले निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थितरूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसका आधारमा सो निर्देशन दिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।