काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका सञ्चालकसमेत रहेका व्यवसायी इच्छाराज तामाङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सम्पत्ति सुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।
सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले सदोषी ठहर गरेको हो । कसुर निर्धारणका लागि अर्को इजलास तोकिएको छ। त्यसका लागि माघ २१ गतेका लागि इजलास तोकिएको छ ।
तीन वर्षभन्दा माथिको कैद सजाय हुने मुद्दामा पुन:अर्को पेसी तोकेर सजाय निर्धारण गर्नुपर्ने मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार केही दिनपछि विशेषले उनलाई सजाय निर्धारण गर्ने छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो ।
विभागले तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती बिना श्रेष्ठसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो ।
विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दावी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ ।
तामाङका छोरीहरु प्रतिक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ । कूल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ ।
दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका छन् ।