काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दल र विभिन्न तप्काका जनसमुदायको भएको बताएका छन्।
अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो औल्याउँदै यसका लागि राज्यसँगै सबैले जिम्मेवारी लिनुपर्ने दाहालले बताए।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा डा. केदारभक्त माथेमा, डा. पिताम्बर शर्मा, डा. विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र र प्रा.कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तिसँगको छलफलमा प्रधानमन्त्रीले यसो भनेका हुन्।
उनले देश बनाउन सबभन्दा बेस्ट ब्रेनहरू केन्द्रित गर्नुपर्छ भन्ने विगतदेखिको आफ्नो सोच रहँदै आएको बताउँदै अहिले विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको केन्द्र बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएको उल्लेख गरे। दाहालले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरे।
प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताए।
छलफलमा डा.केदारभक्त माथेमा, डा.पिताम्वर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा.कृष्ण खनालसहितका बौद्धिकहरुले प्रधानमन्त्रीले हालै विश्वविद्यालयमा भागबन्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताए।