काठमाडौं । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख एवं इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न ‘रेडकर्नर नोटिस’ जारी गरिएको छ।
सहकारीका बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
नगरप्रमुख नेपाली गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका थिए। बागलुङ बजारमा मुख्य कार्यालयसहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा कार्यालयमार्फत बचत संकलनबापतको उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशंकामा इन्टरपोलमार्फत खोजी गर्न प्रहरीले ‘रेडकर्नर नोटिस’ जारी गरेको हो। जिल्ला प्रहरी कार्यालयले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्नका लागि गत भदौमा पत्र पठाएको थियो।