काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएसँगै थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा उनीहरू जोडिएका हुन् ।
सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध आइतबार अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले डिफ्यूजन नोटिस जारी गरेको छ । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो ।
यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरूमा चलाउने भएको वा नभएको लोकेट हुनेछ । त्यसपछि उनलाई रिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।
सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।