काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को नवनिर्वाचित कार्यसमितिले खस्केको विज्ञापन बजारलाई पुनः पुरानै अवस्थामा पुग्ने गरी चलायमान गराउने प्रतिबद्धता जनाएको छ ।
काठमाडौंमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा अध्यक्ष सुदीप थापाले विज्ञापन बजारलाई चलायमान गराउन आफ्नो कार्यसमिति क्रियाशील रहने बताए । आनको नयाँ कार्यसमितिलाई बधाई दिँदै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले यो कार्यकालले आफ्नो पदछाप छोड्नै पर्ने अवस्था आएको बताए ।
विज्ञापन बजार रह्यो भने मात्र मिडिया क्षेत्र ‘स्ट्रेनन्थेन’ हुने उनले बताए । विज्ञापन बजारलाई तटस्थका साथ पुरानै अवस्थामा पु¥याउन कान्तिपुरको सदैव सहयोग रहनेसमेत उनले प्रतिबद्धता जनाए । आनको सफलतालाई नै कान्तिपुर मिडिया ग्रुपको सफलता ठान्दै अघि बढ्ने समेत उनको भनाइ छ ।
आफ्नो कार्यकालमा बजारलाई पुनः चलायमान बनाउने उनको प्रतिबद्धता छ । पदाधिकारीमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारी निर्विरोध र सदस्य सात जना निर्वाचित भएको आनले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तीन वर्षे कार्यकाल रहेको कार्यसमितिको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का छन् । सदस्यहरुमा अरुणकाजी स्थापित, रोशन रेग्मी आरसी, सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनीष अधिकारी, जिना ताम्राकार र प्रभात रिमाल निर्वाचित भएका हुन् ।