काठमाडौं । लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रकाशराज पौडेलमाथि हातपातका साथै दुर्व्यवहार भएको छ ।
आइतबार बिहान सवा १० बजे प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा दुई जना व्यक्तिहरुले कम्प्युनिष्ट पार्टी विप्लव समूहको कार्यकर्ता हौ भन्दै दुव्र्यवहार गरेका हुन् ।
नगरपालिकाका कर्मचारीहरुले विज्ञप्ति जारी गरी आइतबार बिहान सवा १० बजेतिर प्रमुख प्रशासकीय अधिकृत पौडेल आफ्नो कार्यकक्षमा काम गरिरहेको बेला ‘नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ता हौं’ भनी परिचय दिने २ व्यक्ति आएर एक्कासी अकस्मात हातपातसहित दुर्व्यवहार गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले पनि आफूमाथि नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भनी परिचय दिने २ व्यक्तिले हातपात गरेको बताए ।
प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कर्मचारीहरुले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लमजुङ सेक्रेटरी रविन्द्र नखोलालाई पहिचान गरेको र अरु एक जनालाई पहिचान गर्न नसकेको बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आएर ती २ जनाले आधा घण्टा कुरा गर्नु छ भनी समय मागेको र काम गरिरहेको अवस्थामा एक्कासी कठालो समातेर हातपात र दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।
कर्मचारीले घटनाको भर्त्सना गरेका छन् । ‘संविधानको भावना र मर्मलाई आत्मसात गर्दै सेवामा दिनरात नभनी सेवा प्रदान गर्ने कर्मचारीहरुको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीको सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको छ,’ कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था नभएको महसुस गरेका छौं । सेवामा कर्तव्यनिष्ठ कर्मचारीको मनोबल गिराउने यस किसिमको कार्यप्रति हामी घोर भर्त्सना गर्दछौं ।’
कर्मचारीले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयरहित वातावरणमा सेवा प्रवाह सुनिश्चितताका लागि राइनास नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा कार्यरत सबै कर्मचारीले माग गर्दै विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले घटनामा संलग्नको पहिचान गरेर पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको र खोजी भइरहेको बताएका छन् ।