काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक महेश बर्तौलाले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनले बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने बताएका हुन् । यस घटनामा गृहमन्त्री पनि जोडिएको उनको भनाइ छ ।
विमानस्थलमा प्रहरी र अध्यामगन कर्मचारीबीचको कुटाकुट भएको घटनामा छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरेको सरकारले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई जोगाएर ‘सानालाई ऐन ठूलालाई चैन’ भनेजस्तै भएको सचेतक बर्तौलालले बताए ।
त्यस्तै आजको प्रतिनिधिसभा बैठकमा बोल्दैरास्वपाका सभापति एवम् सांसद रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागेका छन्। शुक्रबार बालकुमारी घटनाको छानबिन गर्न गठन भएको आयोगले ज्वालालाई दोषी देखाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।