काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकरहरूलाई पक्राउ गरेपछि बैंक तथा वित्तीय संस्थाहरूका चारवटै छाता संगठनले आपत्ति जनाएका छन् । बुधबार नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र ऐन, नियम पालना गरी पारदर्शी तरिकाले कारोबार गर्दै आएकोमा बैंकरहरू पक्राउ पर्नुमा आपत्ति जनाएका हुन् ।
आफूहरू अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने भन्ने न्यायका सिद्धान्तमा प्रतिवद्ध रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरु तथा बैंकिङ्ग क्षेत्रको मान्य सिद्धान्तहरुको अधिनमा रही काम गरिरहेका बैंकका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा काबाहीको भागिदार बनाईनु हुन्न भन्ने हाम्रो धारणा रहेको छ ।’
नेपाल राष्ट्र बैंकका नीति निर्देशन बमोजिम निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका बैंकहरूमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा सोमा संलग्न सबै कर्मचारी तथा संचालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको बताएका छन् । यदि कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम कारबाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा आफूहरू सहमत रहेको चारवटै संगठनको भनाष् छ ।
साथै, आवश्यक परेमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोगका सधैं तत्पर रहेको विज्ञप्तिमार्फत बैंकरहरूले बताएका छन् । कर्जा लगानीका सम्बन्धमा नियमकिय निर्देशनको परिधिभित्र रही कर्मचारीहरुले गरेको काम कारबाहीलाई नै आधारमानी हुने धरपकड नरोकिएमा बैंकिङ क्षेत्रमा ठूलो चुनौती आउन सक्ने बैंकरहरूको चेतावनी छ ।
‘बैंकिङ्ग कसूरसंग सम्बन्धित अनुसन्धान प्रक्रिया “पहिला सुन अनि थुन” हुनु पर्नेमा “पहिले थुन अनि सुनको” प्रक्रियाले बढावा पाएको छ, यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पुर्याएको, मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा असर पुग्छ,’ विज्ञप्तिमा भनिएको छ ।
ग्राहकहरूको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरूको बचतलाई सुरक्षित गर्दै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूती गराउन चारवटै संगठनले माग गरेका छन् ।