काठमाडौं । सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बसेको बैठक समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए।
कांग्रेसले सोमबारसम्मको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले एमालेसँग थालेको सहकार्यपछिको विकसित परिस्थितिबारे निर्णय लिने छ। यसअघि नै कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बूढानीलकण्ठमै बसेको बैठकले प्रतिपक्षमा बसेर संगठन विस्तारमा होमिने निर्णय लिएको थियो।
उनले कारणहरू धेरै रहेका बताउँदै अहिलेलाई सरकारको समर्थन फिर्ता लिएको बताए। उनले प्रचण्ड आफूहरूको काँधबाट एमालेको काँधमा चढेको पनि बताए।
कांग्रेसको यो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति थियो। यस्तै बैठकमा सोमबारदेखि मन्त्री पद गुमाएका १० जना नेताहरू पनि सहभागी थिए।