काठमाडौं । वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार चैत महिनाको तुलनामा बैंकहरुको औषत ब्याजदर सामान्य घटेको छ।
व्यक्तिगत मुद्दति निक्षेपमा चैत महिनामा औषतमा अधिकतम ७.२५ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले बैशाख महिनामा औषतमा अधिकतम ७.०७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले यस्तो निक्षेपमा अधिकतम ब्याजदर घटाएका कारण औषत ब्याजदर सामान्य घट्न पुगेको हो। ५ बैंकहरुले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकहरुले ब्याजदर बढाएका छन्।
त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशतविन्दु घटेको छ। चैतमा ६.०० प्रतिशतविन्दु रहेको यस्तो निक्षेपमा बैंकहरुको औषत ब्याजदर बैशाखका लागि घटेर ५.८१ प्रतिशतविन्दुमा झरेको छ।
बैशाख महिनामा २० वाणिज्य बैंकहरुमध्ये एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। सो बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत निक्षेपमा ७.९७ प्रतिशतका दरले ब्याज दिने भएको छ। त्यस्तै, व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक रहेको छ। सो बैंकले अधिकतममा ५.६६६१ प्रतिशतका दरले ब्याज दिनेछ।
बैशाख महिनाका लागि ब्याजदर बढाउने दुई बैंक एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन्। एनएमबि बैंकले चैतको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.९७ प्रतिशतविन्दु बढाएको हो भने एभरेष्टले ०.५ प्रतिशतविन्दु बढाएको हो।
बैंक | चैतको ब्याजदर | बैशाखको ब्याजदर |
कृषि विकास | ५.६६ | ५.६६ |
एभरेष्ट | ६.५ | ७ |
नेपाल | ७ | ६.७५ |
लक्ष्मी सनराइज | ७.५ | ७ |
माछापुच्छ्रे | ७.७५ | ७.२५ |
एनआईसी एसिया | ८.५४८ | ७.७५ |
प्रभु | ७.५ | ७ |
स्टान्डर्ड चार्टर्ड | ७ | ७ |
राष्ट्रिय वाणिज्य | ७ | ६.५५ |
नबिल | ७.२५ | ७.२५ |
ग्लोबल आईएमई | ७.६ | ७ |
सिद्धार्थ | ७.५ | ७.२५ |
प्राइम कमर्सियल | ७.२५ | ७.१० |
कुमारी | ७.५१ | ७.११ |
सानिमा | ७.२५ | ७.१० |
हिमालयन | ७.५ | ७.५ |
नेपाल एसबीआई | ७.०१ | ६.५३ |
नेपाल इन्भेष्टमेन्ट | ७ | ७ |
एनएमबी | ७ | ७.९७ |
सिटिजन्स | ७.७५ | ७.५ |
औसत | ७.२५ | ७.०६ |