काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा सबै अभियुक्तले विशेष अदालतबाट सफाइ पाएका छन् । मंगलबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको हो ।
भ्रष्टाचार अभियोगबाट सफाइ पाउनेमा डा. प्रदीप ढकाल, मिलन थापा र अरुणकुमार श्रेष्ठ रहेका छन् । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित पूर्व सदस्यसचिव ढकाल र विशेष नाइके श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै निलम्बनमा परेका थापासँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतले मागेको धरौटी बुझाएर थापा गत पुस २५ गते नै रिहा भएका थिए ।
सुनको जलहरी निर्माणका क्रममा हानि नोक्सानी भएको १४ सय ९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैँकसँग किनेको मूल्यमा पर्न आउने १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ ८५ पैसा बराबरको सुन हिनामिना गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।