काठमाडौं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौत मंगलबार भएको हो ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका छन् । सुपर खुदीको प्रतिकित्ता रु एक सय अङ्कित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने रु ७५ करोड ९५ लाखको शेयर कोषले प्रत्याभूति गर्ने छ । अर्थात् आईपीओ निष्काशन गर्दा कम्पनीको शेयर बिक्री नभए बिक्री नभएको शेयर नागरिक लगानी कोषले खरिद गर्ने छ ।
सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए। यसभन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ ।
वि.सं. २०६५ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको सुपर खुदी हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय का.म.न.पा.वडा नंं. ३० डिल्लिबजार, चारखालमा रहेको छ । कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल बैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो ।