काठमाडौं । सुनकोशी मरिण डाइभर्सन सुरुङमार्गको आज ब्रेक थ्रु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सुरुङमार्गको ब्रेक थ्रु गर्दैछन् । डाइभर्सन आयोजनाको सुरुङ आज वारपार छेडिंन लागेको हो ।
कार्यक्रमका लागि प्रचण्ड हिजै हिजै सिन्धुली पुगिसकेका छन् । कार्यक्रममा प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत सहभागी छन् ।
रामेछाप र सिन्धुलीका संघीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरु, सरोकार भएका सबै व्यक्तिलाई आमन्त्रण गरिएको आयोजनाले जनाएको छ ।
यो परियोजनालाई आर्थिक गेम चेन्जर परियोजनाको रुपमा हेरिएको छ । सुनकोशी–मरिण डाइभर्सनको कुल लम्बाइ १३ दशमलव ३ किलोमिटर छ । सुरुङ निर्माण समय २ वर्ष रहेकोमा १९ महिनामै काम सकिन लागेको आयोजना प्रमुख मित्र बरालले बताए । सुरुङको ब्रेक थ्रु भए पनि अन्य काम पूरा गर्न अझै १ वर्ष लाग्ने छ ।